Why British Restricted Nepal to the Kali River in the 1816 Sugauli Treaty

•

सुगौली सन्धिमा काली नदी (उर्फ महाकाली, शारदा वा घाघरा (गोगरा)) दुई पटक देखा पर्दछ । नेपालले काली र राप्ती बीचको तराई मात्र छोड्दैन, कालीको पश्चिममा रहेको भूमि पनि त्याग्छ। सन्धिमा यसको महत्त्वलाई ध्यानमा राख्दा, प्रश्नहरू उठ्छन्:

  1. ब्रिटिश इस्ट इन्डिया कम्पनीले नेपाललाई काली नदीमा किन सीमित गर्‍यो?
  2. के तिनीहरू अझै पूर्वतिर आउन सक्थे?

यस लेखले नेपालको पश्चिमी पहुँचलाई सीमित गर्न इस्ट इन्डिया कम्पनीले राखेको भौगोलिक, आर्थिक र राजनीतिक तर्कको अन्वेषण गर्दछ।

A portion of the 1829 map by Captain Webb showing the Kali River
A portion of the 1829 map by Captain Webb showing the Kali River. Larger map on pahar.in

१. सुगौली सन्धिअघि

पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा काठमाडौँलाई आफ्नो राजधानीको रूपमा स्थापित गरे। उनका सन्तानहरूले एकीकरण अभियानलाई निरन्तरता दिए र १८६६ सम्ममा गोरखा (नेपाल) पूर्वमा टिस्टा नदी र पश्चिममा सतलज नदीसम्म पुग्यो। १८६६ को अमृतसर सन्धिमार्फत लुधियानाको पूर्वी सिमानाको रूपमा सतलज नदीको ब्रिटिश ग्यारेन्टीले गोरखाको विस्तारलाई सीमित गर्‍यो। यसैबीच, काली र सतलज क्षेत्रहरू गोरखाको कडा सैन्य नोकरशाहीबाट सन्तुष्ट थिएनन्। उही समयमा, ब्रिटिश इस्ट इन्डिया कम्पनी भारत र हिमालय बाहिर आफ्नो व्यवसाय विस्तार गर्न आतुर थियो।

गोरखाको विस्तार र बेलायतीहरूसँगको प्रतिबन्धात्मक दृष्टिकोणले बेलायतीहरूको मनसायमा बाधा पुर्‍यायो। ब्रिटिश इस्ट इन्डिया कम्पनी शासित क्षेत्रहरूसँग बढ्दो सीमा विवाद र कुमाऊँ, गढवालका हारेका प्रमुखहरूको पुनःस्थापित हुने इच्छा र गोरखाको लडाईंद्वारा मुद्दा समाधान गर्ने संकल्पको परिणामस्वरूप एंग्लो-गोरखा/नेपाल युद्ध (१८१४-१८१६) भयो। प्रारम्भिक सफलताको बावजुद, नेपालले पश्चिमी रंगमञ्चका युद्धहरू हार्‍यो र काली नदीको पूर्वमा फर्कनु पर्‍यो। १८७२ फागुन २४ मा नेपालद्वारा सन्धिको अनुमोदनसँगै युद्ध समाप्त भयो।


२. सुगौली सन्धिमा काली नदी

काली नदीको पहिलो उल्लेख सन्धिको धारा ३ मा छ, जहाँ नेपालले समतल भूमि वा तराई त्याग्नुपरेको थियो:

नेपालका श्री ५ महाराजधिराज यसद्वारा सम्मान्य इस्ट इन्डिया कम्पनीलाई तल उल्लेख भएका सबै इलाकाहरू सदाका लागि परित्याग गरिबक्सन्छः

पहिलोः काली र राप्ती नदीहरूका बीचमा पर्ने सम्पूर्ण तराई क्षेत्र

…

फेरि, धारा ५ मा:

नेपालका श्री ५ महाराजधिराज मौसूफ स्वयंका लागि, मौसूफका उत्तराधिकारीहरू वा वारिसहरूका लागि काली नदीको पश्चिममा रहेका देशहरूसितका सम्बन्ध र सम्पूर्ण दाबीहरू त्यागिबक्सन्छ र ती देशहरू वा त्यहाँका बासिन्दाहरूसँग कहिल्यै कुनै चासो मौसूफबाट राखिबक्सने छैन।


३. काली छनौटका लागि इस्ट इन्डिया कम्पनीका तर्कहरू

सुगौली सन्धिका धाराहरूले काली नदीको पश्चिममा रहेको भूमिमाथि नेपालको दाबी समाप्त पारे तर तिनीहरूले काली नदीलाई नै किन सीमाको रूपमा रोजियो भनेर व्याख्या गर्दैनन्। उत्तरहरू सन् १८२४ मा इस्ट इन्डिया कम्पनीद्वारा प्रकाशित "नेपाल युद्धसम्बन्धित कागजात" मा छन्। कागजातहरूमा लर्ड मोइरा (उर्फ मार्क्विस अफ हेस्टिंग्स , जसले अमेरिकी क्रान्तिविरुद्ध बेलायतको सेवा गरेका थिए) ले इस्ट इन्डिया कम्पनी को गोप्य समिति१सँग पत्राचारसहित संलग्न सर्वेक्षण प्रतिवेदनहरू, गुप्तचर टिप्पणीरू र सैन्य रणनीतिहरू समावेश छन्। केही महत्त्वपूर्ण पत्राचारहरू तल चर्चा गरिएका छन्।

३.१ भौगोलिक तर्क

काली नदीको भूगोलले बेलायतीहरूले यसलाई सीमाको रूपमा स्थािपत गर्न आकर्षित गर्छ। सबैभन्दा राम्रो तर्क रदरफोर्डको विवरणमा पाउन सकिन्छ:

“हिमालमा रहेको स्रोतदेखि ब्रह्मदेवभन्दा लगभग तीन स्टेज माथिको बिन्दु बुचेश्वरमा रहेको शारदा नदीसँगको सङ्गमसम्म यो नदी कुमाऊँ र डोटी दुई प्रान्तहरूको सिमाना हो। यस नदीमा शारदा मिसिएपछि यसको नाम हराउँछ, यद्यपि यसमा शारदाभन्दा धेरै ठूलो जलराशि बग्छ र यसको प्रवाह पनि धेरै टाढासम्म फैलिएको छ। हालसम्म यसको स्रोततर्फ जति माथिसम्म अनुगमन गरिएको छ, त्यहाँसम्म कुनै पनि स्थानमा यो नदी तरेर पार गर्न सकिने छैन भन्ने भनाइ छ। यसको कारण नदीको बहावमार्ग अत्यन्त साँघुरो भएकाले धेरै स्थानमा यसको गहिराइ चौडाइभन्दा बढी हुने बताइन्छ। झुलाघाटमा झुला र साँघु दुवै छन् । यी संरचनाहरू प्रायः बाढीले बगाइदिन्छ तर सजिलै पुनर्निर्माण गर्न सकिन्छ। नदीको चौडाइ लगभग तीस फिट मात्र छ। घाटमा सामान्यतया सुरक्षाकर्मी तैनाथ गरिन्छ र त्यस स्थानलाई सँघारले थप रक्षा गर्छन् । नदीको दायाँ किनार करिब पन्ध्र फिट उचाइसम्म ठाडो उठेको छ; बायाँ किनार भने क्रमशः उकालो लाग्दै पहाडसम्म पुग्छ, र त्यस पहाडको ढिस्कोबाट दायाँ किनारमा रहेका ती सँघारहरूलाई सजिलै नियन्त्रण वा निगरानी गर्न सकिन्छ।”

–टी. रदरफर्ड, सहायक कमिसरी-जनरल (५ अक्टोबर १८१४, पृष्ठ १०४)

झूला र साँघुका स्केचहरू, इस्ट इन्डिया कम्पनी (१८२४)

यसरी निम्न भौगोलिक वास्तविकताहरू स्थापित हुन्छन्:

  • काली नदी पहिले नै पूर्वमा डोटी र पश्चिममा कुमाऊँ बीचको प्रशासनिक सीमा थियो।
  • सन् १८१४ को सर्वेक्षणमा उद्गमस्थल पत्ता नलागे पनि, विभिन्न स्रोतहरूबाट यो नदी हिमालय क्षेत्रमा उत्पत्ति भएको कुरा थाहा हुन्छ।
  • काली नदी साँघुरो खोंँचबाट बग्छ। यसको जलपथ "अत्यन्तै सीमित" छ। झुलाघाट जहाँबाट बारम्बार नदी तरिन्छ त्यहाँ नदीको चौडाइ लगभग तीस फिट (नौ मिटर) मात्र छ।
  • झुलाघाटमा काली नदी सँघारको संयोजनले त्यो औपचारिक रूपमा सुरक्षित सैन्यक्षेत्र थियो र केवल आम मानिस नदी पार गर्ने ठाउँ मात्र थिएन भन्ने बुझाउँछ।
  • शारदा नदी काली नदीको सहायक नदी हो तर समतल क्षेत्रमा यो शारदाको नामले बढी लोकप्रिय छ।

लर्ड मोइराले गोप्य समितिलाई तर्क दोहोर्याउँछन्:

“काली नदीले हिमशृङ्खलादेखि तराईसम्म स्पष्ट रूपमा छुट्टिने प्राकृतिक सीमा बनाएको छ। यो नदी चौडाइमा साँघुरो भए पनि अत्यन्त गहिरो र तीव्र बहावयुक्त छ। हिमशृङ्खला दक्षिणतर्फ झुक्दै गएकोले यसको सबैभन्दा दक्षिणी बिन्दु कुमाऊँको पूर्वी सीमासँग जोडिने स्थानमा पुग्दछ। त्यसैले, हाम्रो शासन वा नियन्त्रण स्थापित भएको सम्पूर्ण भूभागमा यो सीमा सबैभन्दा सुरक्षित र प्रतिरक्षाका दृष्टिले सबल मानिन्छ। यी परिस्थितिहरूले यस स्थानको अग्रिम सामरिक मोर्चाका रूपमा रहेको महत्त्व स्पष्ट देखाउँछन्। यदि यसको उचित ढङ्गले रक्षा गरियो भने, यसले गोरखा शक्तिलाई पश्चिमतर्फ विस्तार हुनबाट पूर्णरूपमा रोक्ने अवरोधको काम गर्न सक्छ र यसको पछाडि रहेको सम्पूर्ण देशको सुरक्षाका लागि एक बलियो रक्षाकवच बन्न सक्छ। कुमाऊँको प्रतिरक्षासम्बन्धी कर्नेल निकोल्सद्वारा तयार गरिएको अत्यन्त सक्षम र विवेकपूर्ण प्रतिवेदनमा यहाँ प्रस्तुत गरिएका यी सबै कुराहरूको पूर्ण पुष्टि भएको कुरा तपाईंहरूको माननीय समितिले पाउनुहुनेछ।”३। "

— लर्ड मोइरा (२ अगस्ट १८१५) सम्माननीय गोप्य समितिलाई (पृष्ठ ७६१)


३.२ आर्थिक तर्क

टार्टारी जाने बाटो

इस्ट इन्डिया कम्पनी मुख्यतः एक व्यापारिक कम्पनी थियो जसको आफैँ भित्र प्रतिस्पर्धी स्वार्थहरू थिए। बङ्गालको कलकत्तामा रहेको कम्पनीको भारतीय सरकारसँग अफिमको एकाधिकार थियो र त्यो अफिमको व्यापारमा अत्यधिक निर्भर थियो। तर चीनमा अफिम अवैध भएकोले, ग्वाङ्झाउ वा क्यान्टनमा अवस्थित सुपरकार्गोहरूको सेलेक्ट कमिटी यसको व्यापारले छिङहरूलाई क्रोधित बनाउन सक्छ र कानुनी रूपमा भइरहेको चिया खरीदलाई जोखिममा पार्न सक्छ भन्ने कुरामा सचेत थियो । क्यान्टनका अधिकारीहरूले बारम्बार कलकत्ताको अफिम नीतिलाई लापरवाह भएको भन्दै आलोचना गर्थे। उनीहरूको विचारमा यस्तो नीतिले अत्यन्तै लाभदायक र स्थिर चिया व्यापारलाई नष्ट गर्न सक्थ्यो, जुन व्यापारले कम्पनीको बेलायतस्थित लगानीकर्ता तथा शेयरधनीहरूलाई दिइने ठूलो लाभांशको प्रमुख स्रोतलाई आर्थिक आधार प्रदान गरेको थियो। उनीहरू भारतीय गभर्नर-जनरलले अपनाएका आक्रामक राजनीतिक तथा सैन्य गतिविधिहरूको पनि विरोध गर्थे।

यद्यपि, भारतीय अधिकारीहरू ऊनदेश र टार्टारी जाने हिमाली मार्ग खोल्नमा केन्द्रित थिए ।

ऊन्देश वा हुन्देश पश्चिमी हिमालयको ठीक उत्तरमा, उच्च तिब्बती पठारमा अवस्थित त्यो क्षेत्रलाई जनाउँछ जुन मानसरोवर ताल, कैलाश पर्वत र तिब्बती शहर गार्तोक आसपास केन्द्रित छ। इस्ट इन्डिया कम्पनीका कागजातहरूमा यसलाई "पछ्यौरी-ऊनको जनावर उत्पादन गर्ने देश" को लगभग पर्यायवाचीको रूपमा प्रयोग गरिएको छ किनभने यो उच्च-उचाइको पठारमा चिरु (तिब्बती मृग) र चाङथाङ्गी बाख्रा पाइन्थे, जसको ऊन कंघी वा सङ्कलन गरिन्थ्यो, भञ्ज्याङहरू मार्फत व्यापार गरिन्थ्यो र अन्ततः कश्मीरमा प्रसिद्ध पछ्यौरीमा उनिन्थ्यो। विल्सन (१८४१) मा विलियम मुरक्रफ्टले भने यस क्षेत्रलाई हिउँदेशका रूपमा लेखे। यस पुस्तकमा १८१९ देखि १८२५ सम्म मुरक्रफ्ट र जर्ज ट्रेबेकको यात्रा देखाउने नक्सा पनि समावेश छ।

विल्सन (१८४१) मा एरोस्मिथद्वारा मुरक्रफ्ट र ट्रेबेकको हिन्दुस्तान र पञ्जाबको हिमालय, हिन्दुकुश, पश्चिमी तिब्बत र बोखारा सहितको यात्रालाई चित्रित नक्सा।

टार्टारी उत्तरी र पश्चिमी चीन एवम् मध्य एशियाको विशाल क्षेत्र थियो। यद्यपि यो ब्रिटिश र मिसनरीहरूलाई धेरै हदसम्म अज्ञात थियो। पूर्णरूपमा विश्वास नगरे पनि उनीहरूलाई फारसी र चिनियाँ स्रोतहरूबाट केही जानकारी थियो कि पेकिङ र रूससँगको व्यापार विविधीकरणमा यो क्षेत्र महत्त्वपूर्ण हुनेछ।

रेशम मार्ग (केभिन केस, विकिपिडिया)

यदि बेलायतीहरूले भारतबाट ऊन्देश र टार्टारी जाने बाटो फेला पार्न सकेका भए उनीहरूको व्यवसाय मात्र होइन उनीहरूको राजनीतिक पहुँच पनि विस्तार गर्नेथ्यो (हेर्नुस् सेक्सन ३.३)।

उदाहरणका लागि, मुरक्रफ्टले सन् १८१२ मा मानसरोवर तालको यात्राको क्रममा गार्डोख (गार्तोक)को आफ्नो यात्राको पुष्टि गर्छन्।

[गार्डोख] एउटा शिविर भन्दा अलि फरक छ, जहाँ धेरै साना कम्बलका पालहरू छन्, नपकाएका इँटाका केही घरहरू छन्, जसको वर्णन लद्दाखका घरहरू जस्तै छ: यो वास्तवमा एउटा व्यापारिक केन्द्र वा बजार भन्दा अलि बढी हो, जहाँ गर्मी महिनाहरूमा तिब्बत र चीनका प्राकृतिक उत्पादनहरू हिन्दुस्तान र कश्मीरका उत्पादनहरूसँग साटासाट गरिन्छ।

– विल्सन (१८४१, भोल्युम १, पृष्ठ ३६३) मा मुरक्रफ्ट

मुरक्रफ्टले लद्दाखमा अवलोकन गरेको पनि बताएका छन्:

"...रूसी छाला र ब्रोकेड, रूसी उत्पादनको मखमली र चौडा कपडा, घोडा र ‍औषधि। यी आयातहरूको ठूलो हिस्सा पञ्जाबतर्फ जानेछ ।"

– विल्सन (१८४१, भोल्युम १, पृष्ठ ३५७) मा मुरक्रफ्ट

यसप्रकार मान्न सकिन्छ कि मुरक्राफ्टलाई थाहा हुनुभन्दा पहिले नै भारत र रूस व्यापारको माध्यमबाट जोडिएका थिए।

सतलज र काली नदीहरू बीचको क्षेत्रको मूल्य

१८५० मा प्रकाशित क्याप्टेन स्ट्राचे द्वारा कुमाऊँ र गढवालको नक्सा

नेपाल युद्ध कागजातहरूमा बेलायतीहरूले कुमाऊँलाई आफ्नो आकाङ्क्षाको लागि सबैभन्दा महत्त्वपूर्ण केन्द्रको रूपमा स्थापित गरे। उदाहरणका लागि, फ्रेजरले कुमाऊँ मार्गलाई सबैभन्दा राम्रो दाबी गर्छन्:

बाटोको सहजता र अन्तरक्रियाको सुविधाको सन्दर्भमा भारत र टार्टारी, भुटान र चीनलाई जोड्ने जिल्लाको रूपमा गढवालभन्दा कुमाऊँमा रहेका फाइदाहरूका बारेमा कुनै प्रश्न छैन।"

— डब्ल्यू. फ्रेजर, प्रथम सहायक दिल्ली रेजिडेण्ट (३० अक्टोबर १८१४, पृष्ठ २४६)

लर्ड मोइरा यस मार्गमा विस्तार गर्छन्:

“...कुमाऊँको उत्तरी बिन्दुमा रहेको विशाल हिमालय पहाडहरू बीचको भञ्ज्याङले, हामीले पत्ता लगाएझैं, टार्टारीमा पुग्न व्यावहारिक मात्र होइन, सुविधाजनक बाटो पनि प्रदान गर्दछ।"

— लर्ड मोइरा (१ जुन १८१५, पृष्ठ ५५२)

गढवालको मूल्यको बारेमा क्याप्टेन हेयर्सी टिप्पणी गर्छन्:

“गढवालमा प्रशस्त तामा खानीहरू छन्, फलाम प्रशस्त मात्रामा पाइन्छ, अलकत्रा, भाङ्ग र असंख्य देवदारुका गजहरू छन्, जुन इङ्गल्याण्डको सम्पूर्ण नौसेनालाई आपूर्ति गर्न पर्याप्त छन्।"

— हाइडर यङ्ग हेयर्सी (२४ अगस्ट १८१४, पृष्ठ ५०)

लर्ड मोइरा थप्छन्:

कुमाऊँ प्रान्त आन्तरिक रूपमा यसको राजस्व, यसको खानी र यसको काठको हिसाबले एक बहुमूल्य सम्पत्ति हो। विशेष पछ्यौरी-ऊन व्यापारको लागि यसले दबदबा दिने लगभग निश्चित छ र यसलाई धेरै सन्तोषका साथ मान्न सकिन्छ। यसले टार्टारीसँग प्रदान गर्ने तीव्र सञ्चारले ब्रिटिश उत्पादनहरूको लागि अपरिभाषित हदसम्म बजार प्रदान गर्दछ। पेकिङको दरबारसँग पत्राचारको लागि आवश्यक परेमा यसले क्यान्टनको समितिलाई दिने सुविधाहरूले क्यान्टनको भाइसरायलाई व्यवस्थापनमा सबैभन्दा खुशी दिनेछन्।"

— लर्ड मोइरा (२० जुलाई १८१५, पृष्ठ ६७३)

यसरी, कुमाऊँ हुँदै टार्टारीसम्मको पहुँचले व्यापार विस्तार गर्न मात्र मद्दत गरेन तर कलकत्ता र क्यान्टन बीचको सम्बन्धमा पनि सुधार ल्यायो।

गोरखा समस्या

तर गोरखा एउटा अवरोध थियो। हेयर्सीले तर्क गरेझैं:

यदि देश पूर्व राजाहरूलाई फिर्ता दिइयो भने ठूलो मात्रामा व्यापारिक प्रवाह हुनेछ, जुन ग्रेट ब्रिटेनका लागि अत्यन्त लाभदायक हुनेछ, र बेलायती वस्तुहरू नीटी , माना, जुरार र ताक्लाकोटको बुटुन्ट पासहरू हुँदै , टार्टारी र चीनमा पनि आफ्नो बाटो पत्ता लगाउनेछन्।"

हाइडर यङ्ग हेयर्सी (२४ अगस्ट १८१४, पृष्ठ ५०-५१)

ब्रिटिश आर्थिक लक्ष्यहरू प्राप्त गर्न गोरखालाई यस क्षेत्रबाट बाहिर निकाल्नु र कम्तिमा काली नदीको पूर्वतिर धकेल्नु आवश्यक थियो।

यदि कुमाऊँ उपयुक्त नभएको भए के हुन्थ्यो?

कुमाऊँको उपयोगिताका बारेमा बेलायतीहरू निश्चिन्त थिएनन्। एडम भन्छन्:

"यस सरकारको स्वामित्वमा रहेका सबै नक्साहरू यति गलत छन् कि कम्पनीको हितको बारेमा तिनीहरूबाट कुनै सन्तोषजनक निर्णय लिन सकिँदैन। पूर्वतिर शारदाले प्राकृतिक सीमा प्रस्तुत गरेको देखिन्छ। तैपनि गोर्खाहरूको हस्तक्षेपविपरीत हिमालय पर्वतहरू हुँदै टार्टारीसँग व्यापार सुरक्षित गर्ने महत्त्वपूर्ण उद्देश्य त्यो नदीलाई सीमाको रूपमा तोकेर प्राप्त नहुन सक्छ। त्यसकारण, यस बुँदामा आफूलाई सन्तोष गर्न अनुरोध छ। र यदि माथि उल्लेखित उद्देश्यको लागि आवश्यक परे शारदाभन्दा पर पहाडहरूसम्म पुग्ने सीमा परिभाषित गरिनुपर्छ, ताकि गोर्खा सरकारसँगको कुनै पनि वार्तामा त्यो क्षेत्रको त्यो समायोजनलाई एक शर्त बनाउन सकियोस् ।"

— जे. एडम (३ मे १८१५)

यसको अर्थ १८१५ को सुरुमा:

  • बेलायतीहरूसँग यस क्षेत्रको भरपर्दो नक्सा थिएन।
  • उनीहरूले शारदा/काली नदीलाई निश्चित सीमाको रूपमा दाबी गरिरहेका थिएनन्।
  • यदि टार्टारी व्यापार मार्ग उपलब्ध नभएको भए, सीमा अझ पूर्वतिर धकेलिने थियो।

यसरी, इस्ट इन्डिया कम्पनीले स्पष्ट रूपमा टार्टारी व्यापार मार्गलाई नेपाललाई काली नदीको पूर्वतिर धकेल्ने सम्भावित कारणको रूपमा विचार गर्‍यो। जुन १८१५ सम्ममा सर्वेक्षणहरूले कुमाऊँ हुँदै ऊन्देश जाने व्यापार मार्गलाई पुष्टि गरे । पहाडमा नेपालको सैन्य पराक्रम बेलायतीहरूका लागि बाधा पुर्‍याउने साबित भएको भए तापनि नेपाल भाग्यशाली पनि रह्यो ।


३.३ राजनीतिक तर्क

बढ्दो गोर्खा र ब्रिटिश साम्राज्यहरूको टक्कर, वैचारिक भिन्नता र राजनीतिक तथा आर्थिक स्वार्थहरू नेपाल-अङ्ग्रेज युद्धमा परिणत भएका थिए। साम्राज्य स्थापना गर्ने उनीहरूको प्रतिद्वन्द्विताले बारम्बार सीमा विवादहरू निम्त्यायो। मोइराले EIC का अध्यक्षलाई लेखेको आफ्नो पूर्वव्यापी पत्रमा लेख्छन्:

गोर्खाहरूको आक्रमण धेरै वर्षदेखि गुनासोको विषय बनेको थियो... गोर्खाहरूको क्रूर मनोभाव , अवश्य पनि, सफलता र दण्डहीनताबाट प्रोत्साहित भएको थियो; हाम्रो सहनशीलतालाई हाम्रो ठानिएको थियो... गोर्खाहरूको अतिक्रमण स्पष्ट रूपमा व्यवस्थित योजनासाथ निरन्तर बढ्दै गयो र आफ्नो दायरा बढाउँदै लगे।"

— लर्ड मोइरा (६ अगस्ट १८१६, पृष्ठ ९९३)

२० जुलाई १८१५ (पृष्ठ ६७३) मा गोप्य समितिलाई लेखिएको पत्रमा मोइराले गोप्य समितिलाई वाचा गर्छन्:

“...सतलजेदेखि शारदा वा गोर्ग्रासम्मको सम्पूर्ण पहाडी क्षेत्र साथै मैदानमा गोर्खाहरूले कब्जा गरेको लगभग सम्पूर्ण भूभाग । "

मोइरा भन्छिन् कि गोरखालाई हराएर:

"स्थान, चरित्र र दृष्टिकोणका हिसाबले तपाईंको लागि उत्तिकै खतरनाक छिमेकीको शक्ति अपूरणीय रूपमा तोडिएको छ।"

सोही पत्रमा, मोइराले दाबी गर्छन् कि कुमाऊँ र गढवाल कब्जा गरेर, अंग्रेजहरूबाट:

“… गोर्खाहरूबाट हुने कुनै पनि प्रकारको आक्रमणको सम्भावनालाई रोकियो; किनकि नक्साबाट स्पष्ट हुनेछ कि मैदानबाट आउने घाटीहरूमा नियन्त्रण गर्ने सबै गोर्खा किल्लाहरू यसप्रकार मोडिएका छन्।"

बेलायतीहरूको सैन्य र राजनीतिक लक्ष्यहरू पनि भौगोलिक र आर्थिक तर्कसँग मिल्दाजुल्दा थिए। युद्धअघि सरकारका सचिव जे. एडमले मोइराको तर्फबाट लेख्छन्:

जमुना र सतलज नदीहरूबीचको देशबाट गोर्खा सेनालाई निष्कासित गर्नु सैनिक कारबाही तथा राजनीतिक व्यवस्थापन दुवै दृष्टीले अपरिहार्य बन्यो। सैन्य पक्षबाट हेर्दा, त्यस क्षेत्रको भौगोलिक प्रकृति तथा त्यहाँ परिचालन गर्न सकिने सैन्य शक्तिको सीमित सङ्ख्यालाई विचार गर्दा शत्रुलाई निष्कासित गर्न र उनीहरूबाट खोसिएका चौकीहरूमा अधिकार कायम गर्न स्थानीय बासिन्दाहरूको सहयोग अत्यन्त महत्त्वपूर्ण सैनिक उद्देश्य थियो। त्यसैले, मुख्यतः यही दृष्टिकोणबाट गभर्नर-जनरलले पूर्ववर्ती शासकहरूलाई पुनःस्थापित गर्ने आश्वासन दिएर लाभ उठाउने अपेक्षा गरेका छन्। ती शासकहरूप्रति उनीहरूका पूर्व प्रजाहरूको निष्ठा रहेको देखिन्छ र उनीहरूको पुनःस्थापनाले बेलायती सरकार गोर्खा शक्तिलाई स्थायी रूपमा त्यस क्षेत्रबाट बहिष्कृत गर्ने आफ्नो दृढ संकल्पको प्रमाण दिनेछ।

…

नेपाल सरकारविरुद्ध अपनाइने उपायहरूको आवश्यक अङ्गका रूपमा सतलज र जमुना नदीहरूबीचको देशबाट गोर्खा शक्तिलाई हटाउने निर्णय गरिएपछि हाम्रो सेनाले उक्त क्षेत्र आफ्नो नियन्त्रणमा लिएमा त्यस देशको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न विचारणीय बन्यो। महामहिम [मोइरा] ले शत्रुतापूर्ण कार्यहरू वास्तवमै सुरु भइसकेपछि हुने कुनै पनि शान्ति सम्झौतामा युद्धका घटनाक्रमका कारण गोर्खाहरूबाट खोसिएका ती भूभागहरूमध्ये कुनै पनि अंश उनीहरूलाई फिर्ता गरिने सर्त रहनेछ भन्ने कल्पना गरेका छैनन्।

— जे. एडम (३० सेप्टेम्बर १८१४, पृष्ठ ६३-६४)

निम्न तथ्यहरू स्थापित गर्न सकिन्छ:

  • एक गोली चल्नु अघि नै काली नदीको पश्चिमतिरका क्षेत्रहरूबाट गोर्खालीहरूलाई धपाउने बेलायतीहरूको स्पष्ट लक्ष्य थियो। युद्ध र सुगौली सन्धि तदनुसार डिजाइन गरियो।
  • विषम भूभागको कारणले गर्दा नियमित (ब्रिटिश मात्र भएको) सेनाको सङ्ख्या सीमित हुने थियो। त्यसैले, क्षेत्रको प्रत्यक्ष नियन्त्रण अव्यावहारिक हुने थियो।
  • पूर्व पहाडी प्रमुखहरूको पुनर्स्थापनाको वाचा गर्नु भनेको उनीहरूका स्थानीयहरूलाई ब्रिटिश सेनामा भर्ती गर्नु र ब्रिटिशहरूको विश्वसनीयता प्रदर्शन गर्नु थियो।

यद्यपि, पुनर्स्थापनाको सन्दर्भमा, आदमले जोड दिन्छन्:

"...हामी यी प्रमुखहरूलाई पुनर्स्थापित गर्न बाध्य छैनौं; यो हाम्रो तर्फबाट पूर्ण रूपमा अनुकम्पा हो..."

— जे. एडम (३० सेप्टेम्बर १८१४, पृष्ठ ६४-६५)

तर:

“जमुना र सतलजको बीचमा रहेका स्वतन्त्र राज्यहरूको संख्या धेरै हुनु उचित छैन..."

— जे. एडम (३० सेप्टेम्बर १८१४, पृष्ठ ६३)

साथै त्यहाँ महत्त्वपूर्ण फाइदाहरू हुने थियो:

“यी शासकहरूको पुनःस्थापनाका लागि हाम्रो प्रयास तथा त्यसबाट प्राप्त हुने हाम्रो राजनीतिक प्रभाव र प्रभुत्वको स्वाभाविक परिणामस्वरूप उनीहरूले आफ्ना कठिनाइका बेला सल्लाह र सहयोगका लागि हामीतर्फ नै हेर्नेछन्। त्यस्तो सल्लाह वा सहयोग हामी आफ्नो इच्छाअनुसार दिन वा नदिन स्वतन्त्र रहनेछौँ। यसरी, औपचारिक दायित्वको बोझ बहन नगरीकनै, हस्तक्षेप गर्ने घोषित अधिकारबाट प्राप्त हुने सबै मूलभूत लाभहरू हामीले व्यवहारतः प्राप्त गर्नेछौं भन्ने अनुमान गर्न सकिन्छ।”

…

गोर्खा वा अन्य कुनै विदेशी शक्तिविरुद्ध ग्यारेन्टीसहित पहिलेको शक्ति र सम्पत्तिमा उनीहरूको पुनर्स्थापनाले सम्भवतः हाम्रो गठबन्धनप्रति उनीहरूको इच्छा पूर्णतः पूरा गर्नेछ।"

— जे. एडम (३० सेप्टेम्बर १८१४, पृष्ठ ६३)

मोइरा पुन: पुष्टि गर्छन्:

सतलज र गङ्गा नदीहरूबीचका पहाडी शासकहरूको परिवारलाई सम्माननीय कम्पनीप्रति सामन्ती निष्ठाको सर्तमा पुनःस्थापित गर्नाले तपाईंको संयम र उदारता प्रदर्शन गर्नेछ। साथै, यसबाट रणजीत सिंहले सतलज र जमुना नदीहरूबीच रहेका तपाईंका अधीनस्थ भूभागको पार्श्व (फ्ल्याङ्क) सम्म पुग्न वा त्यहाँ प्रभाव विस्तार गर्न नसक्ने गरी एउटा महत्त्वपूर्ण सुरक्षा अवरोध पनि स्थापित हुनेछ।

— लर्ड मोइरा (२० जुलाई १८१५, पृष्ठ ६७३)

यसरी मोइराको योजना काली नदीको पश्चिममा अधीनस्थ राज्यहरू स्थापना गर्ने थियो जसले पुनर्स्थापित प्रमुखहरूलाई खुशी राख्ने मात्र थिएन, गोरखा र पञ्जाबका रणजीत सिंहलाई पनि नियन्त्रणमा राख्ने थियो।

यी पश्चिमी मोर्चाहरूमा गोर्खाले तीतो पराजय व्यहोर्‍यो। अल्मोडा तथा कुमाऊँका अन्य किल्लाहरू आत्मसमर्पण गरेपछि बम शाहले १८७२ वेशाख १७ मा र मलाऊँ किल्ला पतन भएपछि अमर सिंह थापाले १५ मे १८१५ मा गरेका सम्झौताले गोर्खाली सैनिकहरूलाई काली नदीको पूर्वतर्फ हट्न बाध्य बनायो। सुगौली सन्धिले ती क्षेत्रहरूमाथिको नेपालको दाबी सधैंका लागि समाप्त गरिदियो।


४. विश्वव्यापी भूराजनीतिक विश्लेषण

बेलायती पत्राचारहरूमा देखिने एउटा उल्लेखनीय पक्ष भनेको संयम हो। आर्थिक स्रोतहरूको अत्यधिक प्रयोग हुन सक्ने निरन्तर चिन्ता त्यहाँ देखिन्छ, यद्यपि मोइराले पछि फर्केर हेर्दै यस्तो टिप्पणी गरेका छन्:

... युद्धको खर्च (सहज सर्तमा ऋणद्वारा प्रदान गरिएको) यसको प्रकृतिको मापन गर्दा अनुमान गरेभन्दा धेरै कम छ ...

— लर्ड मोइरा (२० जुलाई १८१५, पृष्ठ ६७३)

युद्धबाट उनीहरूले खोज्ने पुरस्कार हिमालय हुँदै टार्टारी जाने व्यापार मार्गमा मात्र सीमित छ। उनीहरूले जितेका क्षेत्रहरूको पूर्ण प्रशासनमा पनि रुचि राख्दैनन्। उनीहरूले यो काम प्रभुत्व सुनिश्चित गरी पुन:स्थापित राजाहरू र जमिन्दारहरू मार्फत गर्छन्।

किन?

Most scholars ascribe it to the structure of the East India Company (see Footnote 1), the small amount of money allocated for the EIC military operations in India, Nepal’s ruggedness, and the need for a buffer state to prevent enraging Peking.

यद्यपि, यी कुराहरू पूर्ण रूपमा मेल खाँदैनन्। हो, पत्रहरू आफैंले यी विषयका बारेमा कुरा गर्छन् तर तिनीहरूले सम्पूर्ण कथा बताउँदैनन्। पार्कर (२०२६) ले औंल्याएका छन् कि समतल क्षेत्रका सन्दर्भमा बेलायतीहरूको सिद्धान्तमा एकरूपता थिएन। तिनीहरू १८४० को दशकको सुरुवातसम्म पनि नेपाललाई वशमा पार्न चाहन्थे। त्यसोभए, अफिममा एकाधिकार भएको र सबैभन्दा धेरै राजस्व उठाउने इस्ट इन्डिया कम्पनीको भारतीय सञ्चालनमा किन संयमका साथ काम गर्नुपर्‍यो? तिब्बत र टार्टारीको व्यापार मार्ग खोल्नु मात्रै किन पर्याप्त हुनुपर्‍यो जबकि तिनीहरू आवश्यक परेमा काली नदीको पूर्वतिर पनि बढ्ने विचार गरिरहेका थिए? तिनीहरूले जितेका क्षेत्रहरूको प्रत्यक्ष नियन्त्रणको लागि किन गएनन्?

यसको उत्तर विश्वव्यापी भूराजनीतिक मामिलामा छ: अमेरिकी क्रान्ति (१७६५-१७८३), नेपोलियन युद्ध (१८०३-१८१५), र रूसको उदय, जुन अन्ततः १८ औं शताब्दीमा बेलायत र रूस बीचको महाखेल (ग्रेट गेम) मा परिणत भयो।

४.१ अमेरिकामा बेलायतीहरूको हार

सन् १८२४ को दस्तावेजमा कहिल्यै स्पष्ट रूपमा नकिटिए पनि सन् १७८३ मा अमेरिकी उपनिवेशहरूसँगको हारले ब्रिटिश साम्राज्यवादी सोचमा गहिरो प्रभाव पारेको थियो। अमेरिकी क्रान्तिले ठूलो र आत्मनिर्भर जनसंख्यामाथि प्रत्यक्ष रूपमा उपनिवेश स्थापना गरी शासन गर्नु राजनीतिक दृष्टिले दीर्घकालसम्म टिकाउ नहुने कुरा प्रमाणित गरिदिएको थियो। नेपाल-अङ्ग्रेज युद्धका क्रममा अपनाइएको पहाडी शासकहरूको पुनःस्थापना नीति यही शिक्षाको प्रत्यक्ष अभिव्यक्ति थियो। अर्थात्, कठिन पहाडी भूभागलाई प्रत्यक्ष रूपमा अधिग्रहण गरी शासन गर्नुको सट्टा, "कुनै गम्भीर चुनौती बन्न नसकून् भनी कमजोर बनाइएका" आश्रित शासकहरू स्थापना गर्ने र उनीहरूलाई आफ्नै स्वार्थमा निर्भर गराउने नीति अपनाइयो।

यही कारणले गर्दा सन् १७७५ देखि सन् १७८१ सम्म अमेरिकामा बेलायतीहरूको लागि लडेका मोइराले सतलज र जमुना बीचको सम्पूर्ण पहाडी क्षेत्रको विलयलाई "हरेक दृष्टिकोणबाट पूर्णतया अनुपयुक्त" भनेर स्पष्ट रूपमा अस्वीकार गरे। त्यो निर्णयको पार्श्वमा अमेरिकाको भूत आंशिक रूपमा थियो।

४.२ नेपोलियन र युरोपेली युद्धहरू

नेपोलियनका लडाईंहरू (रेडिटबाट)

सन् १८१४ मा बेलायत युरोपमा नेपोलियनसँग लडिरहेको थियो, संयुक्त राज्य अमेरिकाविरुद्ध १८१२ को युद्धको सामना गरिरहेको थियो, भारतमा दोस्रो मराठा युद्ध (१८०३-१८०५) पछिको द्वन्द्वको व्यवस्थापन गरिरहेको थियो र अब हिमालय अभियान सुरु गरिरहेको थियो। नेपोलियन युद्धहरू अझै आफ्नो अन्तिम चरणमा रहेको बेला नेपाल-अङ्ग्रेज युद्ध लडिएको थियो। वाटरलूको युद्ध जुन १८१५ मा भएको थियो जबकि मे महिनामा अल्मोडाको पतन भयो अमर सिंह थापाले पनि मलाऊँमा आत्मसमर्पण गरे। युद्धहरूले ब्रिटिश सैन्य क्षमतालाई सीमित गरे र हरेक निर्णयलाई आकार दिए। चित्तरञ्जन नेपालीले आफ्नो पुस्तक "जनरल भीमसेन थापा" मा लेखेका छन् कि यदि फ्रान्सेलीहरूले ब्रिटिशहरूलाई कमजोर बनाएको एक दशक अघि नेपाल-अङ्ग्रेज युद्ध भएको भए नेपाल बढी सफल हुने थियो।

नेपाल युद्धको दस्तावेजले बारम्बार ब्रिटिश कमाण्डरहरूले अपर्याप्त सेनाको सहारा लिइरहेको देखाउँछ: मार्लीको अकर्मण्यता, मार्टिनडेलको हार, नियमित ब्रिटिश रेजिमेन्टको सट्टा स्थानीय वा गोर्खाबाटअसन्तुष्ट भई अलग्गिएकाहरू र पहाडी प्रमुखहरूको सहयोगबाट बनेको अनियमित सेनामा निर्भरता। सर्वोत्कृष्ट ब्रिटिश नियमित सेना युरोपमा थियो। मोइरालाई यो बाधाको बारेमा राम्ररी थाहा थियो। बेलायतले सबै पहाडी चौकीहरूलाई सिधै घेर्न सक्दैन भनेर नै उनले पहाडी प्रमुख पुनर्स्थापनाको नीति लिएका थिए।

१८१५ मा वाटरलू र नेपोलियनको अन्तिम पराजय पछि बेलायत कुनै मुख्य युरोपेली प्रतिद्वन्द्वीबिना विश्वको प्रमुख समुद्री र व्यावसायिक शक्तिको रूपमा देखा पर्‍यो। लगत्तै १८१७-१८१९ को तेस्रो एङ्ग्लो- मराठा युद्धले अन्ततः मराठा शक्तिको अन्त्य गर्‍यो र बेलायतलाई सम्पूर्ण भारतीय उपमहाद्वीपमा प्रभावकारी सर्वोच्चता दियो।

४.३ रूसको उदय

रूसी साम्राज्य (वर्ल्ड म्याप्स लाइब्रेरी बाट )

रुसले सन् १८१२ मा नेपोलियनलाई पराजित गर्‍यो र यसले रुसको रणनीतिक स्थितिलाई यसरी रूपान्तरण गर्‍यो कि यसको प्रतिध्वनि हिमालयका भञ्ज्याङहरूसम्मै फैलियो।

सन् १८१२ भन्दा पहिले, रूस एक महत्वपूर्ण तर आफ्नै क्षेत्रीमा सीमित युरोपेली शक्ति थियो। सन् १८०१ पछि, रूस युरोप र मध्य एशियामा एकैसाथ प्रमुख भूमि शक्तिको रूपमा देखा परेको थियो। यसको सेनाहरू प्रशिया र पेरिसमा मार्च गरेका थिए र ककेसस र मध्य एशियामा यसको विस्तार तीव्र गतिमा भइरहेको थियो। सन् १८०४-१८१३ को रूसो-फारसी युद्धमा रूसलाई भर्खरै ककेसस जितेको थियो। रूसी व्यापारीहरू र एजेन्टहरू पहिले नै रेशम मार्गको शहर बुखारा तथा खिवा र कजाखस्तान स्टेप्पे (युरोपेली घाँसेमैदान) मा प्रवेश गरिरहेका थिए।

रूसको उदयले दस्तावेजमा रहेको कुमाऊँ-टार्टारी कोरिडोरका तर्कहरूलाई महत्त्वपूर्ण बनाउँछ। मुरक्रफ्टको अभिलेखले रूसी कपडा बुखारान व्यापारीहरू हुँदै दक्षिणतिर सरेको देखाउँछ। चीनको अर्को रेशम मार्गमा पर्ने शहर काश्गर मार्फत गुप्तचर सञ्जालहरू बढाउने उनको प्रस्ताव बेलायतले दक्षिणबाट पहुँच गर्ने आशा गरेको मध्य एसियाली क्षेत्रमा रूसी व्यावसायिक र राजनीतिक प्रवेशको निगरानी गर्ने सम्बन्धमा थियो। ग्रेट गेम १८३० र १८४० को दशकमा मात्र एक स्पष्ट नीति सिद्धान्त बेनेको भए तापनि भारततर्फ रूसी विस्तारको बारेमा चिन्ता नेपाल-अङ्ग्रेज युद्धका पत्राचारहरूमा नै सुषुप्त रूपमा उपस्थित छ।

वाटरलूपश्चात् फ्रान्स स्थायी रूपमा कमजोर भई बेलायतका कुनै पनि युरोपेली प्रतिद्वन्द्वी बाँकी नरहेपछि रूस १९ औं शताब्दीको बाँकी समयको लागि उसको एकमात्र रणनीतिक चिन्ताको विषय बन्यो। हिमालय भञ्ज्याङहरू यस रणनीतिक कोरिडोरको दक्षिणी अन्त्यविन्दु थिए जहाँ रूसी विस्तारले सैद्धान्तिक रूपमा भारतलाई धक्का दिन सक्थ्यो। यसैले कुमाऊँ-टार्टारी मार्ग व्यावसायिक रूपमा मात्र नभई गुप्तचर र पूर्व-चेतावनी प्रणालीको रूपमा पनि महत्त्वपूर्ण थियो। जसले ती मार्गहरू भारतको लागि खतरा बन्नु अघि आफ्नो पकडमा ल्याउन सक्थ्यो उही नै मध्य एशिया हुँदै रूसी भालको निगरानी गर्न सक्थ्यो।


५. निष्कर्ष

सुगौली सन्धिद्वारा नेपालको सीमा काली नदीमा निर्धारण गरिनु कुनै संयोग थिएन, बरु बेलायती इस्ट इन्डिया कम्पनीद्वारा अपनाइएको सुनियोजित रणनीतिक कदम थियो। काली नदीको पहिलेदेखिको राजनीतिक महत्त्व तथा यसको सुदृढ प्राकृतिक भौगोलिक विशेषताहरू (विशेषतः यसको साँघुरा, गहिरा नदीमार्ग र सजिलै रक्षा गर्न सकिने तर्ने स्थानहरू) लाई पहिचान गर्दै बेलायतीहरूले यस्तो बलियो सैनिक सीमा स्थापना गरे, जसले गोर्खा विस्तारवादी चुनौतीलाई प्रभावकारी रूपमा निष्प्रभावी बनायो। साथै, काली नदीको पश्चिमतर्फको भूभाग, विशेषतः कुमाऊँ, आफ्नो नियन्त्रणमा लिएर उनीहरूले टार्टारी र ऊन्देशतर्फ जाने एउटा अत्यन्त महत्त्वपूर्ण व्यापारिक मार्गमाथि पहुँच प्राप्त गरे। यसबाट अत्यधिक लाभदायक पछ्यौरी-ऊन व्यापारमा पहुँच सुनिश्चित भयो र इस्ट इन्डिया कम्पनीलाई चीनसँगको आफ्नो चियामा निर्भर तथा संवेदनशील व्यापारिक सम्बन्धलाई सन्तुलित गर्न आवश्यक आर्थिक शक्ति पनि प्राप्त भयो।

मूलतः सन्धिका सर्तहरू हिमालयको भौगोलिक बनावट र पहाडहरूमा गोर्खाहरूले गरेको प्रतिरोधबाट मात्र होइन, बेलायतीहरूको आफ्नै सीमितताबाट पनि उत्तिकै प्रभावित भएका थिए। विश्वव्यापी भू-राजनीतिक परिस्थितिले पनि निर्णय प्रक्रियामा महत्त्वपूर्ण प्रभाव पारेको थियो। अमेरिकी क्रान्तिबाट प्राप्त दीर्घकालीन शिक्षाले ईस्ट इन्डिया कम्पनीको अप्रत्यक्ष शासनको नीतिलाई निर्देशित गर्‍यो, जसका कारण प्रत्यक्ष औपनिवेशिक प्रशासन सञ्चालन गरेर स्रोत साधन खर्च गर्नुको सट्टा स्थानीय पहाडी शासकहरूलाई पुनःस्थापित गर्ने नीति अपनाइयो। साथै, निरन्तर चलिरहेका नेपोलियन युद्धहरूका कारण बेलायती सेना अत्यधिक व्यस्त र फैलिएको अवस्थामा रहेको पृष्ठभूमिमा, नियमित बेलायती सेनालाई आवश्यकता भन्दा बढी परिचालन नगरी क्षेत्रीय स्थिरता सुनिश्चित गर्ने सबैभन्दा व्यावहारिक उपाय आश्रित मध्यवर्ती क्षेत्रको निर्माण गर्नु नै थियो।

सबैभन्दा महत्त्वपूर्ण कुरा, यो सीमा निर्णयले उदीयमान "महाखेल" को पूर्वानुमान गर्‍यो। नेपोलियनको पराजय पछि विजयी रूसले मध्य एसियामा आफ्नो प्रभाव विस्तार गर्न थालेसँगै कुमाऊँका हिमाली भञ्ज्याङहरू सामान्य व्यापार मार्गहरूबाट महत्वपूर्ण गुप्तचर कोरिडोरमा परिणत भए। यस परिप्रेक्ष्यमा, काली नदीको पूर्वमा नेपाललाई सीमित गर्नु केवल क्षेत्रीय द्वन्द्वको अन्त्य मात्र थिएन, बरु बेलायतको भारतीय साम्राज्यलाई क्रमशः नजिकिँदै गरेको विश्वव्यापी प्रतिद्वन्द्वी शक्तिबाट सुरक्षित राख्न गरिएको एक शताब्दीसम्म प्रभाव पार्ने आधारभूत रणनीतिक ‘चाल’ थियो।

पादटिप्पणी

१. इस्ट इन्डिया कम्पनीको संरचना

नेपाल-अङ्ग्रेज युद्धको समयमा, इस्ट इन्डिया कम्पनीमा तीन फरक तहहरू थिए, जहाँ हरेकमा फरक शक्ति र अधिकारहरू थिए र भारतसँग फरक सम्बन्ध थियो:

प्रोप्राइटर सभा शेयरधनीहरूको साधारण सभा थियो। पर्याप्त स्टक भएको जो कोहीले पनि मतदान गर्न पाउँथ्यो। यिनीहरू कम्पनीका नाममात्र मालिक थिए। यो मूलतः शेयरधनीहरूको बैठक थियो जसले तथ्य र जवाफदेहिताको मागसम्म गर्न सक्थ्यो तर दैनिक कार्यसम्बन्धी धेरै सीमित अधिकार थियो। यही निकायले मार्च १८२४ मा नेपाल सम्बन्धी कागजातहरू प्रकाशन गर्न र पेश गर्न आदेश दिने प्रस्ताव पारित गरेको थियो।

निर्देशक सभा कम्पनीको कार्यकारी सञ्चालक बोर्ड थियो। यसमा २४ जना निर्वाचित निर्देशकहरू थिए जसले व्यावसायिक सञ्चालन व्यवस्थापन गर्थे, अधिकारीहरू नियुक्त गर्थे, बजेट स्वीकृत गर्थे, भारतलाई निर्देशन लेख्थे र प्रतिवेदनहरू प्राप्त गर्थे। मोइराले "निर्देशक अदालत" लाई लेख्दा, उनी कम्पनीको आफ्नै कार्यकारी बोर्डलाई लेखिरहेका हुन्थे।

गोप्य समिति निर्देशक अदालतको उपसमिति थियो, जसमा केवल तीन सदस्यहरू (अध्यक्ष, उपाध्यक्ष, र एक अन्य निर्देशक) थिए, र यो कम्पनीको अरूभन्दा पूर्ण रूपमा फरक नियमहरू अन्तर्गत सञ्चालन हुन्थ्यो। सन् १७८४ को पिटको इण्डिया एक्ट अन्तर्गत स्थापित र सशक्त बनाइएको यस सभाले ब्रिटिश क्राउनको नियन्त्रण बोर्ड (इस्ट इन्डिया कम्पनीभन्दा भिन्न सरकारी निकाय) लाई भारतको सबै राजनीतिक, कूटनीतिक र सैन्य मामिलाहरूमा पर्यवेक्षक अधिकार दिएको थियो।

त्यसकारण, नेपाल पेपर्समा मोइराको युद्ध रणनीति, शान्ति सर्तहरू, सीमा निर्णयहरू, र सन्धि मस्यौदाहरू समावेश भएका सबैभन्दा महत्त्वपूर्ण पत्रहरूमा गोप्य समितिलाई सम्बोधन गरिएको छ। यी मामिलाहरू "राजनीतिक र सैन्य" मामिलाहरूको श्रेणी अन्तर्गत पर्थे जुन संसदले नियन्त्रण बोर्ड मार्फत क्राउन निरीक्षणको लागि आरक्षित गरेको थियो। कम्पनीले व्यापार चलाउँथ्यो र जब कम्पनी लडिरहेको हुन्थ्यो, वास्तवमा क्राउनले युद्ध र कूटनीति चलाएको हुन्थ्यो।

2. Clarification on the names and terms used by the British (English version only)

Goorka = Gorkha

Kamaon and Dootee = कुमाऊँ and Doti. Prior to the Gorkha occupation, the two states were ruled by the Chands and Mallas/Shahis both claiming to be the descendants of the 11th century Katyuris.

Brehm Deo = Brahmadev Mandi. A town established the Katyuri king Brahmadev in the eastern bank of the Kali River, which now falls in Kanchanpur District of Nepal.

Jhol Gaut = Jhulaghat. Named after the suspension bridge on the Kali River. Rutherford describes temporary bridges joola (=jhula): rope bridge, typically two or three ropes strung across the river, one to walk on and one or two to hold, made from twisted grass, bamboo, or cane and sangha (=sanghu): a more substantial wooden bridge, usually a simple beam or plank structure resting on rocks or wooden supports. A permanent suspension bridge was first established by the British in 1877.

sungurs = sangars. Low defensive walls built from piled dry stone — a classic hill warfare fortification to give a soldier cover while commanding the crossing.

Bootan = Bhutan

३. कर्नल निकोल्सको प्रतिवेदन सार्वजनिक रूपमा भेटिएन।

Subscribe!

Join 2 others for PSC preparation, knowledge of history, geology, and more.

We promise we’ll never spam! Take a look at our Privacy Policy for more info.

प्रतिक्रिया दिनुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ